Nidan Media

विशेष महाधिवेशनमा गगन थापाको राजनीतिक प्रस्ताव : पार्टी र देश बदल्ने सङ्कल्प

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो ‘राजनीतिक प्रस्ताव’ पेस गर्दै पार्टी र देश बदल्ने सङ्कल्प सार्वजनिक गरेका छन्।

सोमबार भृकुटीमण्डपमा आयोजित बन्दसत्रमा थापाले पार्टीको वैधानिकताको रक्षा र ‘जेन-जी’ विद्रोहले उठाएका एजेन्डालाई मुख्य प्राथमिकतामा राखेर प्रस्ताव पेस गरे।

महामन्त्री थापाले केन्द्रीय समितिबाटै महाधिवेशन बोलाउन अन्तिमसम्म प्रयास गर्दा पनि सम्भव नभएपछि बाध्य भएर विशेष महाधिवेशनको बाटो रोज्नुपरेको स्पष्ट पारे।

उनले यस महाधिवेशनलाई ‘कांग्रेस बदल्ने’ र त्यसकै माध्यमबाट ‘देश बदल्ने’ अभियानको रूपमा व्याख्या गरे।

“हामी सच्चिन्छौँ, बदलिन्छौँ र देश बदल्न सक्छौँ भन्ने सन्देश यस महाधिवेशनले दिनुपर्छ,” थापाले प्रस्तावमा उल्लेख गरेका छन्।

प्रस्तावमा गत भदौ २३ र २४ गते भएको नवयुवा पुस्ता (जेन-जी) को आन्दोलन र त्यस क्रममा भएका दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

थापाले उक्त आन्दोलनले उठाएका सुशासन, सेवा प्रवाह र युवाको अर्थपूर्ण प्रतिनिधित्वका मागलाई कांग्रेसले दृढताका साथ आत्मसात् गर्ने बताए।

भदौ २३ को दमन र २४ को विध्वंशका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने अडान उनले राखेका छन्।

महामन्त्री थापाले पार्टीभित्र देखिएको उदासीनतालाई चिर्दै नवीन ऊर्जा, उत्साह र एकताका साथ अघि बढ्न सबै कांग्रेसजनलाई आह्वान गरेका छन्।

उनले कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा मात्र नभई जनमुखी आदर्शमा प्रतिबद्ध र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी यो महाधिवेशनको काँधमा रहेको जिकिर गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.