पोखरा । गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
उनको कार्डियक अरेस्ट (मुटुको विद्युत सम्बन्धी गडबडी) का कारण दिल्लीस्थित एक अस्पतालमा निधन भएको बताइएको छ ।
पछिल्लो समय भारतीय फिल्म र वेब सिरिजमा काम गर्न श्रीमती र छोरीसहित उनी दिल्लीमा बस्दै आएका थिए ।
सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’को उपाधि जितेका उनले गीतसँगै केही सफल फिल्ममा अभिनय समेत गरेका छन् ।
सन् २०१० मा रिलिज भएको ‘गोर्खा पल्टन’ उनको पहिलो फिल्म थियो, जुन व्यावसायिक रुपमा सफल भएको थियो । यसपछि उनले ‘अंगालो यो माया’, ‘परदेशी’ जस्ता फिल्ममा अभिनय गरे । उनी पछिल्लो पटक फिल्म ‘पहिचान’मा देखिएका थिए ।
बुबाको निधनपछि उनले परिवारको आर्थिक जिम्मेवारी बोक्न कलकत्ता पुलिसमा जवान पदमा जागिर समेत खाएका थिए ।
तर, लामो समयसम्म विदामा बसेको कारण देखाउँदै २०७१ सालमा भारतीय प्रहरीले उनलाई सेवाबाट बर्खास्त गरेको थियो । त्यसपछि गायन र अभिनयमा सक्रिय रहेका उनले एक सयभन्दा बढी गीतमा आवाज दिएका छन् ।
उनी पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङसमेत बाँकी रहेको छ । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् ।





