Nidan Media

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यक्रमअनुसार आज उम्मेद्वारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।

बुधबार सातओटै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेद्वारहरूको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएपछि आयोगले त्यसपछिको प्रक्रिया अघि बढाएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयन दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता रहेको र अब उम्मेद्वारहरूको योग्यता तथा दाबी विरोधमा केन्द्रित भएर काम भइरहेको जानकारी दिएका छन्।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज परेका उजुरी र दर्ता भएका मनोनयनपत्रमाथि यही पुस २५ र २६ गते विस्तृत जाँचबुझ गरिनेछ।

सो अवधिमा उम्मेद्वारहरूको कानूनी योग्यता र उजुरीको सत्यता परीक्षण गरेर नामावली प्रकाशित गरिनेछ।

यसैगरी आगामी पुस २७ गते उम्मेद्वारहरूलाई आफ्नो नाम फिर्ता लिन चाहने भए समय उपलब्ध गराइने र सोही दिन उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन कार्यक्रम छ।

सबै प्रक्रिया पूरा भएपछि पुस २८ गते उम्मेद्वारहरूलाई आधिकारिक रूपमा निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

निर्वाचन चिह्न पाएसँगै उम्मेद्वारहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई औपचारिकता दिन पाउनेछन्।

१९ रिक्त पदका लागि हुन लागेको यस निर्वाचनले माघ ११ गते हुने मतदानमार्फत नयाँ सदस्यहरू चयन गर्नेछ, जसका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने व्यवस्था छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.