काठमाडौँ। नेकपा (एमाले) ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना छ जना उम्मेद्वारहरूको नामावली टुङ्गो लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकको सघन छलफलपछि उम्मेद्वारहरूको नाम सार्वजनिक गरिएको हो।
एमालेले यसपटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेको छ।
सोही गठबन्धनअनुसार एमालेको भागमा सात सिट परेको भए पनि हालसम्म छ जनाको मात्र नाम तय भएको छ।
मधेस प्रदेशबाट उठ्ने एक उम्मेद्वारको नाममा भने अझै रस्साकस्सी चलिरहेको र छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ।
एमालेले तय गरेको सूचीअनुसार कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल र गण्डकी प्रदेशबाट सम्झना देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ।
यसैगरी, लुम्बिनी प्रदेशबाट एकीकृत समाजवादीकी पूर्वनेत्री रामकुमारी झाँक्रीलाई उम्मेद्वार बनाएर एमालेले नयाँ समीकरणको सन्देश दिएको छ।
कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाइने भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजै उम्मेद्वारको मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।
आयोगको कार्यतालिका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारहरूले आफ्नो मनोनयन पत्र दर्ता गर्नुपर्नेछ।
मनोनयन दर्ताको समय घर्किँदै गर्दा एमालेले मधेस प्रदेशको बाँकी रहेको एक उम्मेद्वारको नाम पनि केही समयभित्रै टुङ्ग्याएर दर्ता प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।
यता, नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेद्वार टुंगो लगाएको छ ।
कांग्रेस स्रोतका अनुसार कांग्रेले कोशी प्रदेशबाट सुनीलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
कांग्रेसले गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।
भागवण्डा अनुसार अब माओवादी केन्द्र र जसपाले उम्मेद्वार टुंग्याउन बाँकी छ ।





