काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६४ ओटा राजनीतिक दलले आफ्ना उम्मेद्वारहरूको बन्दसूची बुझाएका छन्।
निर्वाचन आयोगले पुस १३ र १४ गतेका लागि तोकेको समयसीमाभित्र ती दलहरूले उम्मेद्वारी दर्ता गराएका हुन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको एक सय १० समानुपातिक सिटका लागि ६४ दलका तर्फबाट कुल तीन हजार चार सय २४ उम्मेद्वारको नाम सूचीकृत भएको छ।
बन्दसूची बुझाउनेमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्न प्रयोग गर्नेछन् भने १० ओटा दलले आपसी सहमतिमा साझा निर्वाचन चिह्नबाट उम्मेद्वारी दिएका छन्।
यसअघि ९३ दलले समानुपातिक प्रणालीमा सहभागी हुन निवेदन दिए पनि अन्तिम समयमा ६४ दलले मात्र प्रक्रिया पूरा गरेका हुन्।
कतिपय दलहरूबीच एकता र सहकार्यको प्रयास जारी रहेकाले सोमबार राति अबेर र मंगलबार बिहानसम्म पनि सूची बुझाउने क्रम चलेको थियो।
निर्वाचन कार्यतालिका अनुसार आयोगले प्राप्त बन्दसूचीमाथि पुस १५ देखि २० गतेसम्म प्रारम्भिक छानबिन गर्नेछ।
यस क्रममा कागजात अपुग भएमा वा कानुनी मापदण्ड नपुगेमा दलहरूलाई पुस २१ देखि २७ गतेसम्म सूची सच्याउने समय दिइनेछ।
सच्याएर आएका सूचीहरूको पुनः जाँच पुस २८ देखि माघ ३ गतेसम्म गरिने र आगामी माघ २० गते उम्मेद्वारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ।




