काठमाडौँ । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल-हद्दादसहित चार जना उच्च सैनिक अधिकारीको टर्किएको राजधानी अंकारा नजिकै भएको विमान दुर्घटनामा निधन भएको छ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले यो घटनाको पुष्टि गर्दै यसलाई राष्ट्रका लागि कहिल्यै पुरा नहुने ठूलो क्षति भएको बताएका छन्।
टर्किएका गृहमन्त्री अली येरलिकायाका अनुसार ‘फाल्कन ५०’ प्रकारको व्यावसायिक जेट विमान अंकाराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८:१० बजे लिबियाको त्रिपोलीका लागि उडेको थियो।
उडान भरेको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरे पनि साँझ ८:५२ बजेपछि विमानसँगको रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
टर्किएका सुरक्षा फौजले लामो खोजीपछि हायमाना जिल्लाको केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानले विमानमा देखिएको विद्युतीय खराबीका कारण यो दुर्घटना भएको सङ्केत गरेको छ।
टर्किएका अधिकारीहरूले यस घटनामा कुनै पनि प्रकारको तोडफोड वा बाह्य आक्रमणको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
सेना प्रमुख अल-हद्दाद दुई देशबीचको सैनिक तथा सुरक्षा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय सैनिक वार्ताका लागि टर्किए पुगेका थिए।
उनले मङ्गलवार मात्रै टर्किएका रक्षा मन्त्री यासार गुलेर र सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग महत्त्वपूर्ण भेटघाट सम्पन्न गरेका थिए।
यस भीषण दुर्घटनामा सेना प्रमुख अल-हद्दादसँगै लिबियाली स्थल सेनाका प्रमुख मेजर जनरल अल-फितौरी घ्रिबेल, सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल-कताउइ, सेना प्रमुखका सल्लाहकार मोहम्मद अल-असावी दियाब र मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुबको पनि ज्यान गएको छ।
विमानमा सवार तीन जना चालक दलका सदस्यहरूको पनि निधन भएको अनुमान गरिएको छ। प्रधानमन्त्री द्बेइबाहले घटनाको गहिरो छानबिन गर्न टर्किएमा एक विशेष प्रतिनिधिमण्डल पठाउने तयारी गरेका छन्।
लिबियाको राष्ट्रिय एकता सरकारले यो अपूरणीय क्षतिप्रति शोक व्यक्त गर्दै देशभर तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
सन् २०२० देखि सेना प्रमुखको कमान सम्हाल्दै आएका अल-हद्दादको निधनले लिबियाको सैन्य नेतृत्व र देशको स्थिरतामा ठूलो धक्का पुगेको छ। एजेन्सी





