काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनयन गरिएको छ ।
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा पार्टी सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरेका हुन् ।
समिति सदस्यमा शिवप्रसाद हुमागाईँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विक मनोनयन भएका छन् ।
कांग्रेसले आगामी पुस २६ देखि २८ गते सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । यसका लागि २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाइसकेको छ भने ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ ।
तालिकाअनुसार गाउँ/नगर/वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशनः १७ पुस २०८२, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुस, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन): २१ पुस २०८२ मा गर्ने उल्लेख छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २२ पुस २०८२, प्रदेश अधिवेशन २४, २५ र २६ पुससम्म गर्ने र केन्द्रीय महाधिवेशन २६, २७ र २८ पुसमा काठमाडौँमा गर्ने निर्णय कांग्रेसले गरेको हो ।





