काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको प्लेअफमा पुग्न सफल भएको छ ।
पहिलो संस्करणमा पुछारमा रहेर लिग सकाएको लुम्बिनी दोस्रो संस्करणमा प्लेअफमा पुगेको हो ।
अहिले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ४ विकेटको जित हासिल गर्यो ।
१३३ रनको चुनौती लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । कप्तान रोहित पौडेलले ३२ बलमा ३४ तथा डार्सि सर्टले २४ बलमा ३० रन बनाए ।
खेलमा जनकपुरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३२ रन बनायो । संगीथ कोर्रेले ३८ बलमा अविजित रहँदै ४५ रन बनाए । त्यस्तै मायान यादवले २३ बलमा अविजित रहँदै २७ रन जोडे ।
लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान २ विकेट लिए ।
यो खेलसमेत गरेर जनकपुरले तेस्रो खेलाडीलाई कप्तान बनाएको छ । यो खेलमा जान निकोल लफ्टीलाई कप्तान बनाएको हो ।
यसअघि अनिलकुमार साह र वाइने पार्नेललाई कप्तान बनाइएको थियो । एकै संस्करणमा तीन जना कप्तान बनाइएको यो पहिलो पटक हो ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका ५ ओटै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको काठमाडौँ गोर्खाज लिग चरणका सबै ७ खेल खेलेर १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
विराटनगर ६ खेलमा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ । लुम्बिनी लायन्स ७ खेलमा ८ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।
योसँगै बाँकी चार टिम प्लेअफ होडबाट बाहिरिएका छन् । पोखरा एभेन्जर्स ६ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा छ ।
चितवन राइनोज ६ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । कर्णाली याक्स ६ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । साविक विजेता जनकपुर ६ खेलबाट २ अंकसहित पुछारमा छ ।





