काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको बीसौँ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससँग खेलिरहेको छ । जितका लागि चितवनले १७७ रनको चुनौती दिएको छ ।
खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन बनायो । डेभिड मलानले ५४ बलमा ८० तथा पहिलो विकेटका लागि ११२ रनको साझेदारी गर्ने क्रममा अर्जुन साउदले ३९ बलमा ५२ रन जोडे ।
कप्तान कुशल मल्लले १४ बलमा ३० रन जोडे ।
प्लेअफ सम्भावना बलियो बनाउन चितवनलाई जित्नैपर्ने दबाब छ । अहिलेसम्मका सबै खेल हारेको साविक विजेता जनकपुरले यो खेल हार्दा औपचारिक रुपले प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बन्नेछ ।
आजको दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्नेछन् । यो खेल हार्दा कर्णालीको प्लेअफको सम्भावना सकिने छ । दुवै टिमको समान २ अंक हुँदा गर या मरको खेल हुनेछ ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
काठमाडौँ गोर्खाज ६ खेलमा ८ अकसहित दोस्रो स्थानमा पुगेको छ । विराटनगरले पाँच खेल खेलेकामा चार खेल जितेर ८ अंकसहित तेस्रो स्थानमा छ ।
चितवन राइनोज ४ खेलबाट ४ अकसहित चौथो स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा छ ।
कर्णालीले चारमध्ये एक खेल जितेर छैटौँ स्थानमा छ । पोखरा चार खेलमा एक खेल जितेर २ अंकसहित सातौँ स्थानमा छ ।
साविक विजेता जनकपुरमात्र ४ खेलबाट अंकविहीन छ ।




