Nidan Media

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को डिसेम्बर २ तारिख मा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइन्छ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु हो।

राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्। यीमध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन्।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन्।

प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाइएको छ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.