Nidan Media

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेतामै सीमित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल उपविजेतामै सीमित भएको छ ।

अपराजित रहँदै फाइनलमा पुगेको नेपाल उपाधि भिडन्तमा यूएईसँग २८ रनले पराजित भयो । १४८ रनको सामान्य चुनौती पछ्याएको नेपाल ३३ ओभर २ बल क्रिजमा टिकेर मात्र १२० रन बनाउन सक्यो ।

कप्तान अशोक धामीले अविजित रहँदै २८ रन बनाएको इनिङ्समा रोशन विश्वकर्माले १६ बलमा २५ रन बनाएका थिए । त्यस्तै आशिष लुहारले २५ रन बनाए ।

यसअघि अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको यूएईले ४५ ओभर ५ बल खेल्दा अलआउट भएर १४७ रन बनायो  ।

यूएईका लागि मोहम्मद खुदादादले सर्वाधिक ७१ रन बनाए । नूर उल्लाह अयोबीले २६ रन बनाए । नेपालका लागि दयानन्द मण्डलले ६ तथा अपराजित पौडेलले २ विकेट लिए ।

सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो भने यूएईले ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहेकामा शीर्ष तीन टिम एसिया कप खेल्नका लागि छनोट भएका छन् ।

नेपाल र यूएईसँगै तेस्रो भएको मलेसिया छानिएको छ । तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई हराएको हो । यू-१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।

यसअघि सेमिफाइनलमा नेपालले मलेसियामाथि ९ विकेटको सहज जित हासिल गर्यो । मलेसियाले दिएको ५२ रनको झिनो चुनौती पछ्याएको नेपालले ७ ओभर ५ बलमै १ विकेटको क्षतिमा जित हासिल गर्यो ।

वंश क्षेत्रीले अविजित रहँदै २३ तथा निश्चल क्षेत्रीले अविजित रहँदै १५ रन बनाए ।

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै मलेसियालाई ५१ रनमै रोकेको हो । मलेसियाले १७ ओभर २ बलमात्रै खेलेर ५१ रन बनाएको हो ।

दुई खेलाडीलेमात्र दोहोरो स्कोर खडा गरेको खेलमा नेपालका लागि नितेशकुमार पटेलले ४ तथा चन्दन रामले ३ विकेट लिए ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो ।

समूह चरणको खेलमा  नेपालले लगातार दुई जित हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.