सुरुङ्गा । झापामा गएराति एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । बुद्धशान्ति गाउँपालिका वडा नं ६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति करिब ११ः३० अधिकारीले आफ्नो शरीरमा आगो लगाएका थिए ।
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
परिवारजनका सदस्यले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए । केही महिना अघिमात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराएका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको छ ।
घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलमा खटिएको छ ।





