पोखरा। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका रजिस्ट्रार भेषराज रिजालले गण्डकी प्रदेशका विभिन्न सहकारीबाट पाँच अर्ब ६३ करोड ४१ लाख ३९ हजार नौ ६२ रुपैयाँ हिनामिना भएको बताएका छन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजनमा शुक्रबार पोखरामा भएको सहकारी समस्या समाधानसम्बन्धी अन्तरक्रियामामा रिजालले यस्तो बताएका हुन् ।
रजिस्ट्रार रिजालले प्रदेशभरका १७ सहकारीको मुद्दा विचाराधीन अवस्थामा रहेको बताए। उनका अनुसार सबैभन्दा बढी रकम कास्कीको पोखरामा सञ्चालनमा रहेका सहकारीबाट हिनामिना भएको छ ।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाबाट एक अर्ब ५४ करोड रुपैयाँ, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाबाट एक अर्ब ४९ करोड रुपैयाँ र बाग्लुङमा प्रधान कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाबाट एक अर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको तथ्यांकमा उल्लेख छ ।
रजिस्ट्रार रिजालका अनुसार गण्डकी प्रदेशभर नौ सय एक सहकारी दर्तामा छन्। तीमध्ये पाँच सय ८३ ओटाले अद्यावधिक गरेका छन् भने तीन सय १८ ओटा सहकारी निष्क्रिय छन्।
जिल्लागत रूपमा कास्कीमा सबैभन्दा बढी दुई सय २५ ओटा सहकारी दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा एउटा मात्र सहकारी छ। यी सहकारीमा छ लाख ९४ हजार दुई १९ शेयर सदस्य छन् भने दुई हजार दुई ३५ कर्मचारी कार्यरत छन्।
रिजालले सहकारीमा अधिक लाभांश वितरण गर्ने प्रवृत्ति, पुँजी र निक्षेपको बचत अनुपात नमिल्नु, स्रोतमा लागत विश्लेषण गर्न नसक्नु, कमजोर संस्थागत संयन्त्र, आन्तरिक वित्तीय व्यवस्थापन कमजोर, नियामक व्यवस्थाको अभाव, कानूनको परिपालन नहुनु, तरलताको प्रभाव, कमजोर धितो राखी ऋण प्रवाह गर्ने, बिना धितो ठूला ऋण प्रवाह गर्ने जस्ता कारणले समस्या भोगिरहेको बताए।
ऋण लगानीको असुलीमा ध्यान नदिँदा, कर छली गरी गैरकानुनी रूपमा सीमित व्यक्तिले बोनस लिँदा, साधारण सभामा गणपूरक संख्यासमेत नपुगी यथार्थ निर्णय नहुँदा पनि समस्या परिरहेको उनको भनाइ थियो।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीमा उपलब्धिसँगै समस्या फैलिरहेकाले समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले देशभर ३२ हजार नौ ६५ ओटा सहकारीमा एक करोड नौ लाख सदस्य आवद्ध भएको जानकारी दिए ।
उनले यी सहकारीमा ११ खर्ब २५ अर्ब रुपैयाँ बचत भएको बताए । सहकारीमा ९० हजार दुई ६५ जनाले रोजगारी पाएको उल्लेख गर्दै पछिल्लो समय समस्या पैदा हुँदै गएको उनले बताए ।
अध्यक्ष शर्माले २०२२ सालदेखि नै सहकारीमा समस्या देखिँदै आए पनि समाधान नहुँदा त्यसले झनै ठूलो रूप लिँदै गएको बताए। उनले २०२४ देखि २०८१ सम्म करिब दुई दर्जन विभिन्न समिति, कार्यदल र आयोग गठन भए पनि तिनका सुझाव कार्यान्वयन नभएको गुनासो गरे।
उनका अनुसार विसं २०५८ मा सहकारी विभागबाट प्रकाशित विवरणअनुसार २१ वटा बचत तथा ऋण सहकारीले १५ करोडभन्दा बढी रकम हिनामिना गरेको विवरण सार्वजनिक भएर छानबिन भए पनि उचित समाधान नै नभएका कारण समस्या झन् झाङ्गिँदै गएको छ ।
अध्यक्ष शर्माले तत्काल आवश्यक नीति बनाएर जमानतका लागि बैंक वित्तीय संस्थाबाट कर्जा लिने, प्रतिवेदनका सुझावको कार्यान्वयन गरेमा समस्याको समाधान हुन सक्ने बताए।
उनले जोखिममा रहेको बचत फिर्ताका सम्बन्धमा तत्कालका लागि आवश्यक नीतिगत व्यवस्था मिलाएर सरकारको जमानतमा बैंक वित्तीय संस्थाबाट कर्जा लिने गरेमा समस्या समाधान हुन सक्छ भन्ने सुझाव दिए।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आफ्नै ऐन र जनशक्तिमार्फत कार्य सञ्चालन अघि बढाउने, अध्ययन प्रतिवेदनले दिएका उचित सुझावको कार्यान्वयन र उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले सहकारी क्षेत्रका समस्या समाधानका लागि प्रदान गरेका सुझावको कार्यान्वयन गरेमा पनि समस्याको समाधान हुन सक्ने उनको भनाइ थियो।
सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले प्राधिकरणको संस्थागत विकास, वर्तमान अवस्था र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा सहकारीको समस्या समाधानका विषयमा छलफल पनि गरिएको थियो।
छलफलमा स्थानीय तहमा सहकारीको समस्या स्थानीय तहमै मिलाउने विषय उठान भएका थिए। यसको जवाफ दिने क्रममा पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले प्राधिकरणले काम थाल्छ भने सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा क्लबका मानार्थ सदस्य एवं भीम गुरुङले आफूले गरेको सर्वेक्षणका आधारमा जिज्ञासा राखेका थिए भने कार्यक्रममा क्लब पूर्व अध्यक्ष अपिल कोइराला, सहकारी पीडित किरण श्रेष्ठ लगायतले समसामयिक विषयमा प्रश्न गरेका थिए । उनीहरूले नियमनकारी निकाय र सहकारी सदस्यकै बेवास्ताका कारण सहकारीमा समस्या बढेको बताएका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स, क्लब कास्कीका अध्यक्ष मोहन अधिकारीले स्वागत गरेका थिए । कार्यक्रमको संयोजन क्लब उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले गरेका थिए ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, कार्यकारी निर्देशक डा. शेषनारायण पौडेल, सहकारी रजिस्ट्रार भेषराज रिजाल र पोखरा महानगर सहकारी समितिअध्यक्ष रविरमण तिवारी वक्ता रहेको छलफलको सहजीकरण पत्रकार भरत कोइरालाले गरेका थिए।





