पोखरा । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ ओटा दलबीच आज एकता हुँदैछ।
एकतामा सहभागी दलले आज दिउँसो १ बजे भृकुटीमण्डपमा विशेष समारोह गरेर एकता गर्न लागेका हुन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको बताइएको छ।
गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन्।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ। चुनाव चिह्न पाँच तारा प्रस्ताव गरिएको छ।
मूल पार्टी एकतामा जाँदा केही नेता भने अलग्गिएका छन्। माओवादीबाट जनार्दन शर्मा र राम काकी तथा एकीकृत समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेता बाहिरिएका छन्।
माओवादीका नेता नयाँ अभियान सञ्चालन तथा एसका नेता एमालेमै फर्किने तयारीमा छन्।





