पोखरा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा नेपाल विजयी भएको छ ।
आइतबार साँझ सम्पन्न निकै रोमाञ्चक खेलमा नेपालले यूएईलाई १ रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालल दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन समेटियो ।
कुनै समय १० ओभरमा विकेटको क्षतिमा ८० रन बनाइसकेको यूएई जित नजिक पुगेर पनि लगातार विकेट गुमाएसँग हार बेहोर्न बाध्य भयो ।
यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए भने ध्रुव पराशरले ३८ रन बनाए ।
यसअघि नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा पूरै २० ओभर खेलेर ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
नेपालका लागि आसिफ ४७ बलमा ५१ रन, कुशल भुर्तेल २८ रन, कप्तान रोहित पौडेल २० रन र गुल्शन झा ५ बलमा १४ रन बनाएर आउट भए ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १-१ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीको बलिङ र फिल्डिङले जिताएको खेलमा उनी नै म्यान अफ द म्याच घोषित भएका छन् ।
नेपालले अर्को खेल सोमबार कतार, बुधबार सामोआ र बिहीबार ओमानसँग खेल्नेछ । सोमबारको खेल राति ८ः४५ बजे हुनेछ ।
नेपालले बाँकी ३ मध्ये २ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । अब १ जितेमा रनरेटको भर पर्नुपर्नेछ ।