Nidan Media

निर्वाचनका लागि सरकार गम्भीर नभए विकल्पमा संसद पुनःस्थापना : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनका लागि कांग्रेस जहिले पनि तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभए संसद पुनःस्थापनाको विकल्प हुन सक्ने बताएका हुन् ।

पार्टीको बिहीबारबाट शुरू भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै महतले यस्तो बताएका हुन् । उनले जेन-जी आन्दोलनमा गोली चलाउनेको पहिचान गरेर कारवाही हुनुपर्ने कुरा बैठकमा उठेको जानकारी दिए ।

डा महतले गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए ।

नेताहरूको घर जलाइएको, किसुनजीको आश्रम जलाइएको, लोकतान्त्रिक मूल्य-मान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

उनले अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरे ।

वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी रहेको प्रवक्ता महतले जानकारी दिए । पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको उनले बताए ।

बैठक शुक्रबार पनि

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहीबारको बैठकमा पदाधिकारीले धारणा राख्नेक्रम नसकिएकाले शुक्रबार पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

उनले बैठकमा समयमा नियमित महाधिवेशन हुनुपर्छ भन्ने कुरा आएको भन्दै मङ्सिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.