Nidan Media

दलहरूमा नेतृत्व पुस्तान्तरण निर्विकल्प उपाय

गत भदौ २३ गतेको जेन–जी पुस्ता (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेको) को आन्दोलनले मुलुकको राजनीतिक धार नै बदलिदिएको छ । त्यो आन्दोलनमा सरकारी पक्षबाट भएको दमन र त्यसपछि अर्को दिन मच्चिएको आगजनी र तोडफोडको आक्रोशले नेपालीको सोच नै बदलिदिएको हो ।

यो बदलाव भनेको निरन्तर एउटै ढर्रामा चल्दै आएका राजनीतिक दलका नेता र तिनीहरूको भ्रष्ट प्रवृत्ति नै हो । हुनत राणा शासन, पञ्चायत र शाहीकालसँगै २४० वर्षे राजतन्त्र ढालेको भनेर गणतन्त्रको रसास्वादन गरिरहने तर आफूहरूले गरेको गल्तीको हिसाबकिताब पनि हुन्छ भनेर हेक्का नगर्ने नेतृत्वको करामतकै कारणले गर्दा यो बदलाव आएकोमा दुईमत छैन ।

२४ गतेको विध्वंशपछिको परिवर्तन स्वरुप दलका नेताहरू भूमिगत भए । आक्रमण हुने डरले आफ्ना निवासमासमेत पनि बसेनन् । कतिपय नेताहरू अहिलेसम्म बाहिर आउन सकेका छैनन् । भूमिगतमै भए पनि उनीहरूले जेन–जी आन्दोलनको समर्थन गर्न बाध्य भए । तर त्यही जेन–जी आन्दोलनले ढालेको संसद र नयाँ सरकारलाई भने आत्मसात् गरेको पाइएको छैन ।

कसैलाई संसद ढलेको मन परेको छैन भने कसैलाई फागुन २१ मा हुने चुनाव मन परेको छैन । यतिमात्र हैन उनीहरू आफूले पार्टीभित्रै पाएको कुर्सी छोड्नसमेत तयार छैनन् । बाँचुञ्जेल आफू कुर्सीमै रहेर मरौँ भन्ने अभिलाषाले नेताहरूलाई त बरबाद पार्यो नै आफ्नो दललाईसमेत दलदलमा फसाएका छन् ।

जेन–जी पुस्तालाई कम नआकौँ, चार वर्षमा तीन देशमा कायापलट 

जेन–जी पुस्तालाई कम आँक्ने काम गर्दै नगरौँ । जेन–जी पुस्ताले नेपालमा मात्र हैन पछिल्लो चार वर्षमा तीन देशको राजनीति बदलिदिएको छ । जो इन्टरनेट र स्मार्टफोनसँगै हुर्के–बढे यिनीहरू पक्कै पुरानो पुस्ताभन्दा निकै अगाडि छन् । यो पुस्तालाई अधैर्य पुस्ता पनि भनिन्छ । यसले चाहेपछि त्यसलाई पूरा गरेरै छाड्ने हैसियत राख्छ ।

नेपालमा जेन–जी आन्दोलन

त्यसैले त नेपालमा जेन–जी पुस्ताले सामाजिक सञ्जालको भोटको आधारमा नेपालकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनायो । केपी शर्मा ओली नेतृत्वको सरकारले दमन गरेर १९ जनाको ज्यान लिएपछि यो आन्दोलन कल्पना बाहिर गयो ।

अन्ततः चार पटकका प्रधानमन्त्री ओली राजीनामा दिएर सेनाको हेलिकोप्टरमा भाग्नुपर्यो । पाँच पटकका पूर्व प्रधानमन्त्री एवं सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै घरबाट बाहिरिन पर्यो । जेन–जी आन्दोलनले उनी र उनकी पत्नी आरजूलाई निकै नै दुःखदायी तरिकाले पिटेर बाहिर निकाली घरमा आगो लगाइदियो ।

ओली भागे पनि उनको बालकोटस्थित घरमा आगो लगाएर ध्वस्त पारियो । त्यही हालत भयो तीन पटकका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको । उनको निवाससँगै उनका दुई छोरीको निवासमा पनि आगलागी र तोडफोड भयो ।

जेन–जीले नेताहरूलाई छानीछानी कारबाही गरे । घर जलाइदिए । तोडफोड गरे र भेटेजतिलाई नराम्रोसँग पिटे ।

एक एक पटकका प्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर जलाइयो । नेकपा एसकै सम्मानित नेता झलनाथ खनालको घरमा आगो मात्र लगाइएन उनकी पत्नीलाई जलाउँदा गम्भीर स्थितिमा उपचार गर्नुपरेको छ ।

विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू उनीहरूको निशानामा परे भने अन्य दलका नेताहरू छिटफुटमात्र परे । त्यस्तै छानीछानी उद्योगी व्यवसायीको उद्योग व्यवसाय चौपट पारियो । यसमा ठूलै घुसपैठ भयो । यसको छानबिनका लागि सरकारले न्यायीक जाँचबुझ आयोग गठन गर्ने भएको छ । नेपालजस्तो शान्तिको देशमा अहिंसा मच्याउनेलाई कानूनअनुसार कारबाही हुनैपर्छ ।

ओली सरकारको सामाजिक सञ्जालमा प्रतिबन्ध फुकुवा अनि भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने मात्र दुई माग लिएर सडकमा उत्रिएका जेन–जीले अन्ततः सरकार नै ढलाइछाडे ।

बंगलादेशको जुलाई क्रान्ति

गत वर्षको जुलाई क्रान्तिमा जेन–जी युवा नै आक्रामक हुँदा शेख हसिनाको सरकार ढल्यो । बंगलादेशको उच्च अदालतले सरकारी जागिरमा ३० प्रतिशत कोटा प्रणाली फेरि लागू गर्ने आदेश दिएसँगै जेन–जी पुस्ताले विरोध स्वरुप जुलाई क्रान्ति थाल्यो ।

प्रहरीले सन् २०२४ को जुलाई २० मा प्रदर्शनकारीलाई रोक्न खोज्दा ५६० जनाको ज्यान गएको थियो । हिंसा त्यतिले रोकिएन । अन्त्यमा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर सेनाको हेलिकोप्टरमार्फत भारतमा निर्वासित भइन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासमा कब्जा जमाए । युवा संगठनहरूकै आह्वानमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई मुख्य सल्लाहकारको जिम्मा दिएर अन्तरिम सरकार बनाइएको छ ।

श्रीलंकाको भ्रष्ट सरकारलाई हटाइयो 

श्रीलंकामा राजपक्षे परिवारले करिब दुई दशक शासन गर्यो । सो क्रममा अन्य देशहरूसँग ऋण लिएर भ्रष्टाचार गर्यो । यसले श्रीलंकाका आम जनता गरिबी, खानामा कमी, बिजुली कटौती र महँगीको समस्याबाट जुध्न थाले ।

सन् २०२२ को मार्चमा यसको विरोध प्रदर्शन शुरू भयो । जसमा ठूलो संख्या जेन–जीको थियो । यिनै जेन–जीले सामाजिक सञ्जालको प्रयोग गरेर विरोधलाई देशभर फैलाए ।

जसका कारण सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । तब प्रधानमन्त्री महिन्दा राजपक्षेले ९ मेमा राजीनामा दिए । यसको एक महिनापछि प्रदर्शनकारी राष्ट्रपति भवन र प्रधानमन्त्रीको आवासमा घुसे । १४ जुलाईमा राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुरबाट ई–मेलमार्फत राजीनामा दिए । देशमा फेरि चुनाव भयो र अनुराकुमार दिसानायके राष्ट्रपति चुनिए ।

यसरी जेन–जीले आफ्नो शक्ति देखाउँदा तीन देशको राजनीति बदलिएको छ । जेन–जी पुस्ता साँच्चिकै सशक्त छ । जसले सन् २०२१ मा म्यानमारको सैन्य ‘कू’ को विरोध गरेको थियो । थाइल्याण्डमा जेन–जीले स्कूल तथा विश्वविद्यालयमा राजशाहीको विरोध गरेको थियो । यस्ता विश्वमा थुप्रै उदाहरण छन् ।

परिवर्तन आत्मसात् गरौँ 

जेन–जीको एक दिने प्रदर्शनले नै परिवर्तन गर्यो । यो भनेको जेन–जीको शक्ति कति रहेछ भन्ने हो । अर्कातर्फ जेन–जीको आडमा कति गुप्त समूह रहेछन् जसले मुलुकमा आगो लगायो र खर्बौँको क्षति गरायो । आफ्नै घरमा आगो लगाउन उद्दत गर्ने त्यो अदृष्य शक्ति ‘सुसाइड बम्बर’ भन्दा पनि खतरनाक रहेको प्रमाणित भएको छ ।

जेन–जी समूहमा कुनै घुसपैठ भएर नै यो विध्वंश भयो र छानीछानी नेता र व्यापारीका घरमा आगो लगाइयो । तोडफोड गरियो र पिटपाट गरियो । अनि सरकारी सम्पत्ति पनि छानीछानी नोक्सान गरियो । आफ्नै घरमा आगो लगाउने नेपाली कसरी हुन सक्छ ?

तर यो तोडफोड र आगो लगाउने काम सिकाउने शीर्ष दलका नेता र कार्यकर्ता नै हुन् । सत्ता बाहिर भएका बेलामा उनीहरूले गरेको कुकर्मको देखासिकी यो जेन–जी पुस्ताले सिक्यो र आगो लगायो । अनि अवसरवादी समूहले मौकामा चौका हान्यो ।

घुसपैठ हिजो पनि थियो र भोलि पनि हुनेछ । यसको जिम्मा जेन–जीले नै लिनेछ र अवसरवादी समूहलाई कुकर्म अनुसारको सजाय हुनै पर्नेछ । सजाय नभए भोलि उसले अर्को कुकर्म गर्ने नै छ । जसरी कारागारबाट भागेको अपराधीले अर्को दिन नै अपराध कर्मलाई रोज्यो । त्यसरी नै यसपालि तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गरिएन भने ऊ झन् खतरनाक अपराधी बनेर निस्कने छ ।

त्यसैले त अहिलेको परिवर्तनलाई आत्मसात् गरौँ र अबका दिनलाई सुन्दर बनाउन सबै मिलेर हातेमालो गरौँ । यहाँबाटै हुनेछ राजनीतिमा पुस्तान्तरणको चर्चा ।

दलहरूमा पुस्तान्तरण हुनैपर्छ

जसरी पाका नेताहरूको नेतृत्वलाई जेन–जीले नरुचाउँदा देशको सत्ता नै परिवर्तन भयो त्यसरी नै अब दलहरूमै पनि पुस्तान्तरणको खाँचो छ । यसलाई पुराना कुनै पनि दलले स्वीकार गरेर तत्काल अगाडि बढ्नु पर्नेछ । यो निर्विकल्प उपाय हो । यसमा किन्तु परन्तु लगाउने अब ठाउँ छैन ।

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । त्यसका लागि सबै दल तयार हुनुपर्नेछ । त्यसअघि नै पार्टीहरू पुस्तान्तरण गरेर जान सकेनन् भने कुनै पनि पुराना दलका उम्मेदवारले जित्ने सम्भावना कम देखिँदैछ ।

देशको समग्र राजनीतिमा पुस्तान्तरण खोजेको जेन–जी पुस्ताले आफ्नो पार्टीभित्र पनि त्यो अपेक्षा राख्नु स्वभाविकै हो । यहाँ त दलहरूमा तीन चार पुस्ता रहेका छन् । जसले गर्दा उनीहरूले पालो कुर्नुपर्नेछ । कतिपयका चाहना बीचमै तुहिन्छन् ।

विशेषगरी शीर्ष दलहरूमा नेतृत्व कुनै पनि हालतमा सहनयोग्य देखिएको छैन । नेपाली कांग्रेसमा आक्रोश पोखिँदै आएको छ । कम्युनिष्ट दलहरूमा भने आक्रोश पोख्यो कि त्यो एक्लियो भन्ने जाने भयो । आवाज उठाउन भने छाडिएको छैन ।

यहाँ यस्ता नेताहरू छन् जो बाँचुन्जेल नेतृत्वमै रहन चाहन्छन् । यसमा सबैभन्दा लामो समयसम्म अध्यक्षको कुर्सीमा रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे सदाबहार अध्यक्ष हुन् ।

उमेरका आधारमा महन्थ ठाकुर, मोहन वैद्य किरण, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई, उपेन्द्र यादवहरूले पनि राजीनामा दिएर नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्दा पार्टीलाई राम्रो फाइदा हुनेमा दुईमत नहोला ।

यस्तो लाग्छ कि उनीहरू कुर्सीकै लागि बनेका हुन् । माओवादी त ठूलो छ । र, पनि प्रचण्डले बाँचुन्जेल पार्टी नेतृत्व नछाड्ने संकेत दिएका छन् । समय समयमा विद्रोह हुन्छ । तर त्यसले प्रचण्डलाई हटाउन सक्ने आँधी ल्याउँदैन । मोहन वैद्य किरणहरूले विद्रोह गरेका भए पनि प्रचण्डलाई हल्लाउन सकेनन् । अन्तमा आफैँ पार्टी छाडेर गए ।

तिनै प्रचण्डका कारण पार्टी चलायमान भएको छैन । अब जेन–जी पुस्तालाई सहकार्य गरेर जाने हो भने माओवादीबाट प्रचण्डले विश्राम लिनैपर्ने देखिन्छ । केसी, विजुक्छे र वैद्यहरूले आत्मसात् गरेर विश्राम लिने हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमा तेस्रो कार्यकाल अध्यक्ष हुने अभिलाषाले अहिलेको राजनीतिक परिवर्तन ल्याउन धेरै मद्धत गर्यो । पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी राजनीतिमा फर्किन चाहन्थिन् । उनको उदेश्य पार्टीको नेतृत्व गर्नु थियो ।

यसलाई ओलीले थाहा पाएपछि उनको सदस्यता नै नवीकरण गरिदिएनन् । अनि एमालेमा ७० वर्ष भएपछि स्वतः सक्रिय राजनीतिबाट टाढिनु पर्ने हुन्छ । ओली टाढिन चाहेनन् जसका कारण भदौमै भएको विधान महाधिवेशनबाट ७० वर्षे नै हटाए । उनी तेस्रो कार्यकालका लागि तयार छन् । आफ्नो आलोचना रोक्न उनले सामाजिक सञ्जालमै प्रतिबन्ध लगाए । अनि सरकारले देखायो सर्वोच्च अदालतको आदेश । सर्वोच्चका आदेश सबैभन्दा बढी उल्लंघन गर्ने ओली सरकार नै थियो । विकल्प नदिइ सामाजिक सञ्जाल बन्द गर्दा त्यसले पार्ने असर आँकलन गर्न नसक्दा ओलीले समय अगावै बालुवाटार छाड्नु पर्यो ।

तर जसरी जेन–जीको एक दिनको आन्दोलनले नै उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको हेलिकोप्टरमा भाग्न बाध्य बनायो त्यसरी नै त्यसबाट पाठ सिकेर उनले राजनीतिबाट संन्यास लिनुको विकल्प पनि छैन । किनकि उनका उखान टुक्कालाई जेन–जीले टुक्राटुक्रा पारिदिएको छ । एमालेभित्रकै जेन–जीले उनलाई मन नपराएको स्पष्ट भैसक्यो ।

कांग्रेसभित्र पनि यही समस्या छ । सभापति शेरबहादुर देउवा नियमित समय मंसिरबाट भागेर पार्टीको महाधिवेशन एक वर्ष पछाडि धकेल्न खोजिरहेका थिए । त्यसको कारण थियो । त्यो हो केपी ओली र देउवाबीच चुनावअघिको प्रधानमन्त्रीको कुर्सीमा आधा आधा समय नेतृत्व गर्ने ।

समयमै पार्टीको महाधिवेशन गरियो भने उनी छैटौँ पटक प्रधानमन्त्री हुन नपाउने निश्चित थियो । किनकि उनी तेस्रो पटक पार्टी सभापतिमा लड्ने अवस्था छैन । उनी दोस्रो कार्यकालको समय लम्बाएर भए पनि प्रधानमन्त्री हुन खोजेका थिए ।

तर त्यो अभिलाषा पूरा हुन सकेन । किनकि कांग्रेस–एमालेको गठबन्धन सरकार जेन–जीले ढालिदियो । अब देउवाले कुनै लोभ लालच नगरी सभापतिबाट जतिसक्यो छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्नुको विकल्प देखिँदैन । किनकि उनलाई यसपालि जेन–जीले नराम्रो चोट पुर्याएको छ ।

उनले जेन–जीलाई बुझेको भए सामाजिक सञ्जाल बन्द गर्नका लागि केपी ओलीलाई साथ दिने थिएनन् । सामाजिक सञ्जालको जरुरत देउवालाई भन्दा हजार गुणा बढी जेन–जीलाई थियो । त्यस्तै जब ओली सरकारको दमनबाट १९ जेन–जीहरूको एकैदिन निधन भयो कांग्रेसले तत्काल सरकार छाड्न सक्नुपर्दथ्यो । देउवाले न त ओलीलाई मनाउन सके न त आफूले नै मन्त्रीहरू फिर्ता बोलाउन सके ।

देउवाको त्यही गल्तीले उनीमाथि त्यतिठूलो प्रहार भयो । ओली त हेलिकोप्टरमा सुरक्षित ठाउँमा गए । देउवाले चाहेका भए सेनाको सहयोगमा भाग्न सक्थे । उनी भागेनन् । नेपाली दाजुभाइले मार्छन् भने तयार छु भनेर जुन साहस देखाए त्यो भने सलामयोग्य छ ।

उनी आफूले कुनै गल्ती नगरेकाले आफूमाथि कसैले पनि आक्रोश नपोख्नेमा विश्वस्त थिए । व्यक्तिगत रिसइबी कसैसँग नभएको उनको जिकिर हुन सक्छ । पाँच पाँच पटक प्रधानमन्त्री भइसकेपछि देश कहाँ पुग्यो त भन्ने जेन–जीलाई लाग्यो । जसका कारण उनीमाथि दुर्व्यवहार भयो । रक्ताम्मे पाइयो । उनकी पत्नी आरजूमाथि पनि प्रहार भयो । घर सखाप भयो । पार्टी कार्यालय सखाप भयो ।

अब चुनावमा अस्तित्वमा रहनका लागि पनि पुस्तान्तरण जरुरी

शीर्ष नेताहरू अब कुनै पनि अनुहार लिएर फेरि जनता सामु पुग्लान् भन्ने कल्पना पनि गर्न सकिँदैन । किनकि राजसंस्था हटेपछि १७ वर्ष त यिनै मुख्य तीन दलका तीन नेताको वरिपरिमात्र देश घुम्यो । २०७२ सालदेखि आलोपालो गरी यिनै तीन नेताले सरकारको नेतृत्व गरिरहे । यसलाई सुधार गर्न उनीहरूले खोजेनन् । भ्रष्टाचारलाई संस्थागत नै बनाए ।

परिवर्तन नहुने उनीहरूलाई जेन–जीले नराम्रो झड्का दिएको छ । र, पनि उनीहरूमा यो दिब्य चेत आएको पाइँदैन । पहिलो दिन सरकारको गोलीबाट ३० जना मरे भने दोस्रो दिन ४२ जना मरे ।

यदि देउवाले पहिलो दिन नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए ओली पनि राजीनामा दिन बाध्य हुने थिए र दोस्रो दिन त्यतिठूलो क्षति हुने थिएन । शीर्ष तीन नेताका घर सम्भवतः जल्ने थिएनन् ।

यसरी जेन–जी आन्दोलनको दिन सरकारबाट देउवा ब्याक नहुँदा र प्रमुख प्रतिपक्ष दलका अध्यक्ष प्रचण्डले विद्रोहको आगोमा रोटी सेक्ने काम गर्दा ओलीले देशलाई नै भड्खालोमा हाल्ने काम गरे । अब रुपान्तरणका लागि तीन जना नेताले नै मार्ग प्रशस्त नगर्ने हो भने तीन ओटै पार्टी चलायमान हुने छैनन् ।

आसेपासे हेरेरमात्र धेरै दिन रमाउन सकिन्न । शक्ति गुमेपछि आसेपासे पनि आफ्ना हुँदैनन् । पार्टीभित्रका आशा लाग्दा नेतालाई फक्रने अवसर नदिए एक दिन पार्टी नै रहने छैन । भ्रष्टाचारको थुप्रोबाट निर्मित आसेपासे समूहको भरमा पार्टी चल्दैन । नेताहरू सच्चिने कि सक्किने भन्ने धेरै भइसक्यो । अब त विकल्प पनि छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.