Skip to main content

Nidan Media

भुटानको हिमताल विस्फोटपछि उत्तर बंगालमा उच्च सतर्कता, हजारौँ विस्थापित

काठमाडौँ । भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट भई आएको बाढी संकोश नदीतर्फ बग्न थालेपछि भारतको उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।

नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै प्रशासनले आपतकालीन तयारी अघि बढाएको छ।

दार्जिलिङका भाजपा सांसद राजु विष्टले संकोश र यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित दूरीमा जान आग्रह गरेका छन्।

अलिपुरद्वारका प्रहरी अधीक्षक अमित कुमार सावका अनुसार हजारौँ मानिसलाई विद्यालय भवनमा आश्रय दिएर सुरक्षित स्थानमा सारिएको छ। संकोश नदी प्रणालीमा रेड अलर्ट जारी गरिएको छ।

भुटानको गासा जिल्लास्थित शिन्ताफू हिमताल बिहीबार राति फुटेको थियो। बाढीले चर्चित गासा त्शाचु तातोपानी कुण्ड र पुनाखा-गासा राजमार्गको एक भाग बगाएको छ। मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बंगाल र असमका नदी आसपासका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.