Skip to main content

Nidan Media

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, रोसीमा सबैभन्दा बढी पानी पर्‍यो

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। शुक्रबार बिहानैदेखि परेको झरीले जनजीवन प्रभावित बनाएको छ भने मौसम चिसिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा देशभरकै सबैभन्दा बढी ३३ मिलिमिटर वर्षा मापन भएको छ। शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसी मौसम मापन केन्द्रमा उक्त वर्षा रेकर्ड गरिएको हो।

यस अवधिमा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।

विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षाका कारण जोखिमयुक्त स्थान तथा सडक आसपास पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ।

शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन, मौसमसम्बन्धी अद्यावधिक सूचना लिन तथा सम्भावित विपद्बाट जोगिन आवश्यक पूर्वतयारी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.