काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना बढेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवातको असर देशका विभिन्न भागमा देखिएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। यी प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना पनि छ। आज राति पनि देशका अधिकांश स्थानमा वर्षा र हिमपात जारी रहन सक्ने अनुमान छ।
लगातारको वर्षाले धानबाली भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले महाशाखाले आज र भोलि कृषि कार्य नगर्न अनुरोध गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
वर्षाका कारण पहिरो, सडक अवरुद्ध, हवाई तथा सडक यातायात प्रभावित हुनुका साथै चिसो बढ्न सक्ने जोखिम छ।
सम्भावित विपद्बाट जोगिन सर्वसाधारणलाई सतर्क रहन र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ।





