काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी शुरूआत गरेको छ। प्रतियोगिताको तेस्रो खेलमा कर्णालीले मंगलबार राति जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कर्णालीका युनिश ठकुरी र हुसेन तलातले समान तीन तथा नन्दन यादवले दुई विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले नौ विकेट गुमाएर १३२ रन बनाएको थियो।
कर्णालीका अरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रन जोडे। जनकपुरका कप्तान हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए।
चितवन राइनोजको पनि जित
एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई आठ रनले पराजित गरेको थियो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएको थियो।
विराटनगरका इमरान शेखले ३९ र आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए। लोकेश बमले २६ रन जोडे। चितवनका कमल ऐरीले २६ रन खर्चेर चार तथा रिजन ढकालले दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। डाविड मलानले ५० बलमा पाँच छक्कासहित ७० रन बनाए। कप्तान रवि बोपाराले अविजित ३२ र डान माउसीले अविजित २९ रन जोडे।
विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथा असलंकाले समान एक विकेट लिए। चितवनका देव खनालले १२ र अर्जुन साउदले तीन रन बनाए।
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो।
आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा
एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोज, विराटनगर किङ्ग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज गरी आठ टोली सहभागी छन्।
नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) पनि लागू गरिएको छ। नयाँ व्यवस्थाले खेलका विवादित निर्णय पुनरावलोकन गर्न टोलीहरूलाई अवसर दिनेछ।





