पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ६७ वर्षको उमेरमा मंगलबार राति पोखरा-५ स्थित निवासमै निधन भएको हो। उनी नेपाली कांग्रेसको तर्फबाट पोखरा-५ मा दुई पटक वडासदस्य पदमा प्रतिस्पर्धा गरेकी थिइन्।
स्वर्गीय नेपालीको मंगलबार बिहान सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, क्षेत्र नं १ का सभापति सरोज केसी, क्षेत्र नं २ का सभापति नवीनराज बराल, पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, सचिव धनञ्जय पौडेल, पोखरा-५ का सभापति प्रकाश कोइरालालगायतले नेपाली कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्वर्गीय नेपालीका श्रीमान् टुकलाल नेपाली, दुई छोरा विष्णु र निर्मल तथा दुई छोरी सरस्वती र सर्मिला छन्। उनका जेठा विष्णुको यसअघि नै निधन भइसकेको छ। श्रीमान टुकलाल पोखराको बगालेटोलस्थित लेकसिटी अस्पतालका पूर्व सञ्चालक हुन्।
यसैबीच नेपालीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाली कांग्रेस पोखरा-५ का सचिव हरि पन्तले विज्ञप्ति जारी गर्दै नेपालीको निधनले पार्टीलाई स्तब्ध बनाएको जनाएका छन्।
नेपाली कांग्रेसका तर्फबाट दुई पटक वडा सदस्य पदमा प्रतिस्पर्धा गरेकी नेपालीको असामयिक निधनले परिवारजन, आफन्त र उनलाई नजिकबाट चिन्ने सबैलाई गहिरो पीडा दिएको विज्ञप्तिमा उल्लेख छ।
लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदै समाज र समुदायसँग जोडिएर अघि बढेकी नेपालीको योगदान र स्मरण सधैँ रहने उल्लेख गर्दै विज्ञप्तिमा उनको आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गरिएको छ।
सचिव पन्तद्वारा जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहन सक्ने शक्ति माता विन्ध्यवासिनीले प्रदान गरून् भन्ने कामनासमेत गरिएको छ।




