Skip to main content

Nidan Media

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई गुटबन्दीको माध्यम बनाउन हुँदैन: गगन थापा

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई तिक्तता, विभाजन र गुटबन्दीको माध्यम बनाउन नहुने बताएका छन्।

चुनाव जित्नेले सबै पाउने र हार्नेहरू बाहिरिने प्रवृत्ति अन्त्य गर्दै प्रतिस्पर्धामा सहभागी सबैको योग्यता, अनुभव र क्षमतालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश, पोखराले ११३औँ बीपी जयन्तीका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले वडादेखि केन्द्रसम्म निरन्तर हुने आन्तरिक निर्वाचनले कार्यकर्तालाई प्रतिस्पर्धामा अल्झाएर थकित बनाएको बताए। पार्टीको आन्तरिक निर्वाचन प्रणाली र त्यसले सिर्जना गर्ने परिस्थितिबारे महासमिति बैठकमा गम्भीर छलफल गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि त्यसकै कारण आपसी सम्बन्ध बिग्रिने अवस्था आउन नहुने उनले बताए। प्रतिस्पर्धामा पराजित भएका नेता तथा कार्यकर्तालाई पन्छाउनुको सट्टा उनीहरूको योग्यता र अनुभवलाई समेत उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसलाई कटुता र संस्थागत गुटबन्दीबाट मुक्त गरी ‘पार्टी एक परिवार हो’ भन्ने भावना विकास गर्नुपर्ने बताए।

थापाले कांग्रेसमा २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैपटक क्रियाशील रहनुलाई पार्टीको ठूलो पूँजीका रूपमा व्याख्या गरे। पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई उचित ढङ्गले संयोजन गर्न सके मात्रै पार्टीले अपेक्षित परिणाम हासिल गर्न सक्ने उनको भनाइ थियो। नेपालमा अहिले युवा जनसंख्याको ठूलो उपस्थिति रहेकाले युवालाई जिम्मेवारी र अवसर दिनुपर्ने उनले बताए।

पार्टीप्रति असन्तुष्ट मतदातासँग संवाद गर्नुपर्नेमा जोड दिँदै थापाले आगामी मंसिर महिनाभर विशेष संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरे। विगतमा कांग्रेसलाई मत दिएका तर यसपटक असन्तुष्ट भएर मत नदिएका मतदाताको घरदैलोमा पुगेर गुनासा सुन्नुपर्ने उनले बताए।

विशेषगरी सुशासन र सत्ता केन्द्रित राजनीतिमा भएका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

थापाले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोटको अधिकार स्थानीय पार्टी सदस्यलाई दिने व्यवस्था गरिएको जानकारी दिए।

पोखरा महानगरपालिकाको उम्मेद्वार पोखराकै पार्टी सदस्यले र स्याङ्जाको उम्मेदवार स्याङ्जाकै पार्टी सदस्यले छनोट गर्ने गरी विधानमा व्यवस्था गरिएको उनले बताए।

उम्मेद्वार छनोटमा पुराना र नयाँ नेता, महिला तथा विभिन्न जातजाति र भाषाभाषीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

सभापतिको जिम्मेवारीलाई व्यक्तिगत प्रतिष्ठाभन्दा दायित्वका रूपमा लिएको उल्लेख गर्दै थापाले आफ्नो आचरण, निर्णय र कामका कारण कुनै पनि कांग्रेस कार्यकर्ताले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए। केन्द्रीय नेताहरू काठमाडौंमा मात्र सीमित हुने परिपाटी अन्त्य गर्दै गाउँगाउँ र जनतामाझ पुग्नुपर्ने उनले बताए।

नेताहरूको स्वागतमा विमानस्थलमा लामो लाइन लाग्ने, अत्यधिक खादा-माला लगाउने र गाडीको लामो लस्कर निकाल्ने जस्ता देखावटी संस्कार त्याग्नुपर्ने उनको भनाइ थियो।

नेताहरू सर्वसाधारण नागरिकजस्तै भएर जनतामाझ पुग्नुपर्ने र नागरिकले सहज रूपमा भेटेर आफ्ना कुरा राख्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.