काठमाडौँ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीले आज पापाङ्कुशा एकादशीका दिन पनि मान्यजनबाट दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।
नेपाली समाजमा आश्विन शुक्ल एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने परम्परा छ। विजयादशमीका दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने भएकाले दशैँको रौनक अझै कायम रहेको छ।
हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ। वैष्णव परम्परामा यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको विशेष पूजा आराधना गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार यस दिन व्रत बसेर एकादशी महात्म्यको कथा श्रवण तथा भगवान् विष्णुको उपासना गर्नाले पापबाट मुक्ति मिल्छ। बिहानै स्नान गरी चोखो भएर पूजापाठ गर्ने र फलाहार ग्रहण गर्ने परम्परा पनि छ।
यस एकादशीमा सुन, तिल, जौ, अन्न, भूमि, छाता तथा जुत्ता दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। साथै विष्णु सहस्रनाम पाठ, भगवान् राम र कृष्णको स्तुति तथा भजनकीर्तन गर्ने चलन छ।
पापाङ्कुशा एकादशी धार्मिक आस्था र उपासनाको पर्व मात्र नभई विजयादशमीका दिन भेटघाट गर्न नभ्याएका आफन्तसँग पुनर्मिलन गर्ने तथा मान्यजनबाट आशीर्वाद लिने अवसरका रूपमा पनि रहँदै आएको छ।





