काठमाडौँ। बडादशैँको आठौँ दिन अर्थात् महाष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआजा गरी मनाइँदै छ। आश्विनशुक्ल अष्टमीका दिन मनाइने महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। यस दिन पशुबलि, चण्डीपाठ र विशेष अनुष्ठान गर्ने परम्परा रहेकाले धार्मिक दृष्टिले महाष्टमीलाई महत्वपूर्ण दिन मानिन्छ।
महाष्टमीमा दुर्गा भवानीलाई शक्तिशाली बनाउने र आसुरी प्रवृत्तिको नाश गर्ने धार्मिक विश्वास छ। यस दिन घरघरका दशैँघर, कोत तथा देशभरका विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गर्ने चलन पनि छ।
धार्मिक ग्रन्थमा सात्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ। जल, चन्दन, अक्षता र अन्य पूजासामग्रीबाट गरिने पूजालाई सात्विक पूजा मानिन्छ। पशुबलिसहित गरिने पूजालाई राजस र मदिरासमेत चढाएर गरिने पूजालाई तामस पूजा भनिएको छ।
परम्परागत शास्त्रीय मान्यताअनुसार पशुबलिलाई देवीको आराधना र पशुको मुक्तिसँग जोडेर व्याख्या गरिएको छ। दुर्गा सप्तशतीको आठौँ अध्यायमा पनि बलिसम्बन्धी प्रसङ्ग उल्लेख रहेको धार्मिक विश्वास छ। यद्यपि बलि दिने वा नदिने परम्परा समुदाय, स्थान र पारिवारिक आस्थाअनुसार फरक हुन्छ।
महाष्टमीमा पशुबलि नचढाउनेले काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवलजस्ता वस्तु प्रतीकात्मक बलिका रूपमा चढाएर पूजा गर्ने चलन छ। यसरी विभिन्न परम्पराअनुसार देवीको आराधना गरिन्छ।
महाष्टमीको रात कालरात्रिका रूपमा विशेष पूजाआजा गर्ने परम्परा छ। कालरात्रि पूजाको विधि र सङ्कल्प छुट्टै हुने धार्मिक मान्यता छ। काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँघरमा राज्यका तर्फबाट परम्पराअनुसार ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने चलन छ।
महाष्टमीकै दिनमा हातहतियार, कलपुर्जा र सवारीसाधन सफा गरी पूजा गर्ने परम्परा पनि छ। आफ्नो काममा प्रयोग हुने साधनको पूजा गर्दै देवीको कृपा र सुरक्षाको कामना गरिन्छ।
महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिन्छ। धार्मिक आस्था र परम्परासँग जोडिएको यो पर्वले बडादशैँको रौनक थप बढाउने गर्छ।





