पोखरा । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियारले पार्टीको आन्तरिक निर्वाचनमा हारजितलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएर संगठन सुदृढीकरणमा एकजुट हुन आग्रह गरेका छन्।
नेपाली कांग्रेस रूपा गाउँपालिका-३ र ४ को संयुक्त आयोजनामा विजयादशमी, शुभदीपावली, नेपाल संवत् ११७४, छठ तथा ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै परियारले केन्द्रीय उपसभापति पदमा थोरै मतान्तरले पराजित भए पनि आफूले कार्यकर्ताको माया र विश्वास प्राप्त गरेको बताए।
निर्वाचनको प्रतिस्पर्धालाई त्यहीँ सीमित राखेर अब पार्टी संगठन र मुलुकको समृद्धिका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए।
आगामी दिनमा पनि पार्टीमा सक्रिय रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता परियारले आपसी सद्भाव र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे।
कांग्रेस कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज केसीले युवा तथा नयाँ पुस्तालाई स्वदेशमै आफ्नो क्षमता र प्रतिभा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
प्रतिस्पर्धा र नियमसम्मत प्रक्रियाका आधारमा काम गर्ने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्दै उनले सुशासन, अवसरको समानता र जनउत्तरदायित्वका विषयमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने धारणा राखे।
रूपा गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो।
वडा नं. ३ का सभापति भरतबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो।
कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं ट्रेड युनियन तनहुँका अध्यक्ष कृष्ण केसी ‘नागिला’, महाधिवेशन प्रतिनिधिहरू नारायणकुमार श्रेष्ठ, गीमाया गुरुङ, मानेन्द्र कमाल र खेमबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन रणबहादुर भुजेलले गरेका थिए।





