जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ राडीबाट जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।
दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका-९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ।
घाइते अवस्थामा उद्धार गरी नगर अस्पताल दल्ली पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा नलगाड नगरपालिका-२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





