Skip to main content

Nidan Media

आजदेखि तिहार शुरू, पहिलो दिन काग तिहार मनाइँदै

काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरू भएको छ। तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।

कागलाई यमराजको दूतका रूपमा मानेर पूजा गर्ने र मिठा परिकार खुवाउने परम्परा छ। कागलाई खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक विश्वाससमेत रहेको छ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। आज काग तिहारसँगै आयुर्वेद चिकित्साका पिता धन्वन्तरी जयन्तीसमेत मनाइँदैछ।

धार्मिक मान्यताअनुसार यमराजले आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाको घरमा अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गरेको प्रसंगसँग यमपञ्चक जोडिएको छ। यस अवधिमा यमराज बहिनीको घरमा रहने भएकाले तिहारलाई यमपञ्चक भनिएको धार्मिक विश्वास छ।

त्यस्तै, वैदिक कालमा भगवान् विष्णुले खुसी भएर बलि राजालाई कात्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकमा राज्य गर्न पाउने वरदान दिएको र त्यसको खुसीयालीमा बलि राजाले आफ्नो राज्यभर दीपावली गरेको प्रसंग पनि तिहारसँग जोडिन्छ। तिहारमा घरघरमा दीपावली गर्ने तथा देउसी-भैलो खेल्ने चलन छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.