Skip to main content

Nidan Media

यमनमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ । यमनको अदेनस्थित राष्ट्रपति भवनलाई लक्षित गरी इरान समर्थित हुथी विद्रोहीले बिहीबार पाँच ओटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका छन्।

आक्रमणमा पाँच जनाको मृत्यु भएको र १६ जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

हुथी समूहले साउदी अरबका विभिन्न स्थानमा पनि क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ। साउदी नेतृत्वको गठबन्धनले भने रियादतर्फ प्रहार गरिएको एउटा क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ।

हुथी समूहले साउदी अरबको टाइफुन लडाकु विमानलाई समेत निशाना बनाएको दाबी गरेको छ। तर, यसबारे साउदी अरबले प्रतिक्रिया दिएको छैन।

हुथी समूहको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी नेतृत्वको गठबन्धनले पछिल्लो २४ घण्टामा ४२ वटा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको हुथीले जनाएको छ। यता, यमनी सरकारी सेनाले पनि विभिन्न मोर्चामा हुथीविरुद्ध सैन्य कारबाही जारी राखेको छ।

सन् २०१४ को अन्त्यदेखि यमन द्वन्द्वमा फस्दै आएको छ। त्यसबेला हुथी समूहले राजधानी सानासहित उत्तरी यमनका धेरै क्षेत्र कब्जा गरेको थियो। त्यसपछि सन् २०१५ मा यमनी सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.