Skip to main content

Nidan Media

नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ। बडादशैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज दशैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विनशुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।

पौराणिक मान्यताअनुसार देवकार्य पूरा गर्न भगवती देवीले कात्यायन ऋषिको आश्रममा सुन्दरी कुमारीका रूपमा अवतार लिएकी थिइन्।

ऋषिले उनलाई पुत्रीका रूपमा स्वीकार गरेकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक विश्वास छ।

शार्दूल वाहन भएकी, खड्गधारिणी र दानवघातिनी स्वरूपकी देवी कात्यायनीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।

गत असोज २५ गते घटस्थापना गरी शुरू भएको नवरात्रमा यसअघि क्रमशः देवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाताको पूजा आराधना गरिसकिएको छ। नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी) तथा देवी भागवत पाठ गर्ने परम्परा छ।

आजका दिन काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली र शोभाभगवतीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।

उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, बागलुङ कालिका, पाथीभरा, छिन्नमस्ता र विन्ध्यवासिनीलगायत शक्तिपीठमा पनि भक्तजनले देवीको पूजा आराधना गरिरहेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.