काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
पञ्चाङ्ग निर्णायक विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै तिहारका चाडपर्व र भाइटीकाको साइत सार्वजनिक गरेको हो।
समितिका अनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी र यमदीपदान, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा तथा २४ गते मंगलबार गोवद्र्धन पूजा, गोरुपूजा, बलिपूजा र हलितिहार मनाइने समितिले जनाएको छ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
कात्तिक २५ गते बुधबार यमद्वितीया, भाइटीका र म्हपूजा मनाइनेछ।
समितिले सार्वजनिक गरेको साइतअनुसार भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्कनुपर्ने र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ।
समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा तिहारका पर्वहरूको मिति र भाइटीकाको शुभसाइत उल्लेख गरिएको छ।
भाइटीकाका लागि आवश्यक सामग्री
भाइटीका लगाउन ओखर, तोरीको तेल, बिमिरो, मसला, रोटी तथा मिठाई आवश्यक पर्छ। त्यसैगरी मखमली, दूबो र सयपत्रीका माला, अक्षता, अबिर, केशरी, चन्दन तथा पञ्चरंगी वा सप्तरंगी टीका तयार गर्नुपर्छ। दाजुभाइलाई उपहार दिन ढाका टोपी पनि राख्ने चलन छ।
भाइटीका लगाउने विधि
भाइटीकाका दिन घरमा दियो, कलश र गणेश स्थापना गरी अष्टचिरञ्जीवी तथा यमराजको पूजा गर्ने परम्परा छ।
सबैभन्दा पहिले ओखर फुटाएर दाजुभाइको संकट तथा काल टार्ने धार्मिक विश्वास छ। त्यसपछि पानी र तोरीको तेलले दाजुभाइको वरिपरि सात घेरा लगाएर सुरक्षाको कामना गरिन्छ।
दाजुभाइको शिरमा तेल र दहीको सगुन दिएपछि दिदीबहिनीले पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिन्छन्। त्यसपछि मखमली, दूबो र सयपत्रीको माला लगाएर मिठाई तथा मसला दिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा, उपहार तथा वस्त्र प्रदान गर्छन्।
टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिने परम्परा छ।
दिदीबहिनी नभएका व्यक्तिहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने चलनसमेत रहेको छ।





