पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वर्गीय नेता एवं पूर्वमन्त्री प्रकाशबहादुर गुरुङले समाज र राष्ट्रका लागि पुर्याएको योगदान कांग्रेस र उहाँको परिवारको अमूल्य सम्पत्ति भएको बताएका छन्।
गुरुङको १३औँ दिनको पुण्यतिथिमा सोमबार पोखरा-१०, रामघाटस्थित बौद्ध अर्घौ सदनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै थापाले उनको विकास निर्माण तथा सामाजिक योगदानको स्मरण गरे। भौतिक रूपमा बिदा भए पनि गुरुङका सत्कर्म, विचार र जनसेवाको भावनाले सधैँ प्रेरणा दिइरहने उनले बताए।
थापाले नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
नागरिक र पार्टीबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्न कार्यशैलीमा व्यापक रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो।
कांग्रेसप्रति आस्था राख्ने शुभेच्छुकलाई पुनः संगठनमा जोड्दै किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्न सक्ने बलियो संगठन निर्माण गर्नुपर्ने थापाले बताए।
“केवल बोलेर पुग्दैन, काम गर्ने शैलीमै परिवर्तन ल्याउनुपर्छ,” उनले भने, “पार्टीले आफ्ना काम र व्यवहारबाट परिवर्तन प्रमाणित गर्नु नै स्वर्गीय गुरुङप्रतिको सच्चा सम्मान हुनेछ।”
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कांग्रेस नेता देवराज चालिसे र अन्नपूर्ण गाउँपालिका-१० का वडाध्यक्ष गौतम गुरुङले स्वर्गीय गुरुङको राजनीतिक तथा सामाजिक योगदानको चर्चा गरेका थिए।
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति सुशील भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर जिसीले गरेका थिए। कार्यक्रममा परिवारका तर्फबाट कप्तान पदमलाल गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए।
प्राध्यापनबाट राजनीतिसम्मको प्रेरणादायी यात्रा
वि.सं. २००९ सालमा जन्मिएका गुरुङको ७२ वर्षको उमेरमा गत असोज १३ गते निधन भएको थियो। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका स्थायी बासिन्दा उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भूगोल विषयका उपप्राध्यापकका रूपमा लामो समय प्राध्यापन गरेका थिए।
२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर ३ मा उम्मेद्वार बनेपछि उनले प्राध्यापन पेसा त्यागेका थिए। उक्त निर्वाचनमा नेकपा (एमाले)का नेता सोमनाथ अधिकारी प्यासीलाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि २०५८ सालमा उनी वाणिज्य तथा आपूर्तिमन्त्री बने।
गुरुङले कास्कीका ग्रामीण क्षेत्रमा आठौँ र नवौँ चरणको विद्युतीकरण, कृषि सडक तथा पुल निर्माण र शैक्षिक पूर्वाधार विकासमा योगदान पुर्याएका थिए।
सार्वजनिक जीवनमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्रिय सम्मानसहित सशस्त्र प्रहरीको टुकडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो।




