Skip to main content

Nidan Media

कुनै दबाबमा नपरी कानूनको शासन कायम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका अधिकृतलाई कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थमा नपरी कानूनको शासन कायम गर्न निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले प्रहरी सङ्गठनको छवि उच्च राख्न इमानदारी, अनुशासन र जवाफदेहितालाई कार्यसम्पादनको आधार बनाउनुपर्ने बताए ।

करिब १६ महिनाको कठिन तालिम पूरा गरेका अधिकृतलाई बधाई दिँदै उनले संविधान, प्रचलित कानून र नियमको पालना गरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

नागरिकको जिउधनको रक्षा, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धान प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले त्यसमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिए ।

प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री साहले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा र पेशागत मर्यादा कायम गर्नुपर्ने बताए । अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न उनले प्रहरी अधिकृतलाई आग्रह गरे ।

दीक्षान्त समारोहमा प्रहरी नेतृत्व तथा प्रशिक्षार्थीका अभिभावकको उपस्थिति थियो ।

तालिम पूरा गरेका अधिकृत अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्‍याउनेछन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.