Skip to main content

Nidan Media

बूढीगण्डकी बाढीमा चार गोठाला सम्पर्कविहीन, १५ याक र नाक बगे

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीपछि चार जना गोठाला सम्पर्कविहीन भएका छन्।

बाढीले खोला किनारमा रहेका चार ओटा गोठ बगाउँदा त्यहाँ बाँधिएका १५ ओटा याक र नाकसमेत बगेका छन्।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले बस्तीमा प्रवेश गर्दा माछीखोला बजारमा ठूलो क्षति पुगेको छ।

बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुलसमेत बगाएको छ। यसैगरी आरुघाटको सोती र मान्बु जोड्ने झोलुङ्गे तथा पक्की पुलहरू पनि बाढीले बगाएको उनले जानकारी दिए।

बाढीले निरन्तर क्षति पुर्‍याइरहेकाले सम्पर्कविहीन गोठालाहरूको खोजी तथा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। त्यसका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

बाढीका कारण धार्चे क्षेत्रसहित बूढीगण्डकीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.