पोखरा। पोखरा महानगरपालिका-२८ कालिकास्थानस्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ। सो दुर्घटनामा १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा १३ वर्षीया ममता तिवारी, १४ वर्षीय अशिम कँडेल र नामथर नखुलेका करिब १३/१४ वर्षका दुई बालिका रहेका छन्। उनीहरू सबै विद्यार्थी हुन्।
यस्तै, बसमा लिफ्ट मागेर सवार पोखरा-२८ का ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये एक विद्यार्थीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङसमेत छन्।
दुर्घटनामा परेकाहरूको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




