काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना आजदेखि हुँदैछ ।
निर्वाचन समितिले उम्मेदवारहरूसँगको बैठकपछि मतगणना शुरू गर्ने तयारी गरेको निर्वाचन समिति सदस्यसचिव राजु कटुवालले बताए ।
उपसभापति र महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका १४ ओटा कोठामा गर्ने तयारी गरिएको छ ।
मतगणनास्थलमा सीसी क्यामेरा जडान तथा गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ ।
यसअघि शुक्रबार राति मतदान सकिएलगत्तै सभापति पदको मतगणना गरिएको थियो ।
सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए । थापाले करिब ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
पार्टीको वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका थिए।
सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले खड्गीसहित आगामी मतगणनामा पराजित हुने सबै उम्मेद्वारलाई समेटेर अघि बढ्ने बताएका छन् ।
पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने उल्लेख गर्दै उनले निर्वाचनमा जित-हार भए पनि पार्टीप्रतिको जिम्मेवारी सबैको समान रहने धारणा राखेका थिए ।
त्यस क्रममा उनले वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई साथमा राखेर एकताको सन्देश दिएका थिए ।





