काठमाडौँ । लगानी बोर्डले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बोर्डको ६८औँ बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनामा १० अर्ब ७५ करोड चार लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी-३ आयोजनामा १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन शुरू गर्ने विषयलाई अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको परियोजना विकास सम्झौताअनुसार निर्माण तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।
बोर्डले स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई सेवा प्रवाह सहज बनाउन प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्विस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराउने कानूनी व्यवस्था गर्न निर्देशन दिएको छ ।
कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार आयोजनामा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदानलाई आधार मानेर प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ ।





