Skip to main content

Nidan Media

कांग्रेस सभापतिमा गगन थापाको उम्मेद्वारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेद्वारी दर्ता गराएका छन्।

मंगलबार साँझ काठमाडौँस्थित राष्ट्रिय सभागृह पुगेर थापाले पुनः सभापति बन्ने लक्ष्यसहित उम्मेद्वारी दर्ता गराएका हुन्।

यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमार्फत नियमित नेतृत्व चयन प्रक्रियाबाट आफ्नो पदलाई निरन्तरता दिन खोजेका छन्।

उनले यसअघि नै पार्टीको नेतृत्व परिवर्तन मात्र नभई संगठन, कार्यशैली र राजनीतिक संस्कृतिमै परिवर्तन आवश्यक रहेको बताउँदै आएका थिए।

थापाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट शुरू भएको हो। २०४६ सालको जनआन्दोलनका बेला विद्यार्थी राजनीतिमा सक्रिय उनी नेपाल विद्यार्थी संघमा आबद्ध भए।

त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य, सचिव र सभापतिको जिम्मेवारी सम्हालेका उनी नेविसंघको केन्द्रीय उपाध्यक्ष र महामन्त्री हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित भएका हुन्।

२०६७ सालमा कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थापा १३औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दा पराजित भएका थिए।

१४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि उनले पार्टीको संगठनात्मक नेतृत्वमा भूमिका निर्वाह गरे।

यसबीच उनी काठमाडौँ-४ बाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भए भने २०७३ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीसमेत सम्हाले।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेपछि थापाले कांग्रेसलाई नयाँ पुस्ताको सहभागिता, नीतिगत स्पष्टता र संगठनात्मक सुधारमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

१५औँ महाधिवेशनमा प्रस्तुत उनको राजनीतिक प्रतिवेदनले पार्टीका पछिल्ला दुई दशकका कमजोरीको आत्मसमीक्षा, निर्वाचनपूर्व गठबन्धनको नीतिमा पुनर्विचार, सुशासन र आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको छ।

तर थापाका लागि नेतृत्वमा निरन्तरता पाउनु मात्रै पर्याप्त हुने छैन। पार्टीभित्रको गुटगत विभाजन, नेतृत्वप्रतिको असन्तुष्टि र संगठनलाई एकताबद्ध बनाउने चुनौती उनको अगाडि छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेको पृष्ठभूमिमा पार्टीको आन्तरिक एकता कायम गर्नु पनि उनको नेतृत्वको महत्त्वपूर्ण परीक्षा बनेको छ।

उम्मेद्वारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्म समय तोकिएको थियो। तर वर्षाका कारण केही आकांक्षी उम्मेद्वारी दर्ताबाट वञ्चित हुन सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्‍याएको छ।

थापाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वको निरन्तरता र परिवर्तनको बहस थप केन्द्रमा आएको छ।

विद्यार्थी राजनीतिदेखि पार्टी सभापतिसम्मको यात्रा तय गरेका थापाले अब संगठनात्मक सुधार, आन्तरिक एकता र सार्वजनिक प्रतिबद्धतालाई व्यवहारमा कति उतार्न सक्छन् भन्ने प्रश्न उनको नयाँ कार्यकालको मूल्याङ्कनमा महत्त्वपूर्ण हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.