काठमाडौँ । आज पनि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
हिमाली थोरै तथा पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय मौसम विभागका सहप्राध्यापक विनोद पोखरेलले आज चितवनदेखि पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरीसहित असिनापानी पर्न सक्ने सम्भावना रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
छोटो समयमै मौसममा परिवर्तन आउन सक्ने भएकाले हावाहुरी र असिनाबाट हुन सक्ने सम्भावित क्षतिप्रति चनाखो रहन उनले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सिसम्म केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । गएराति बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।





