काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।
उनले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्दा संस्थाको प्रतिष्ठा र संवैधानिक भूमिकालाई ध्यानमा राखेर छलफल गर्नुपर्ने धारणा राखे।
उनका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ।
लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति पनि संवेदनशील विषयमा छलफल गर्ने महत्वपूर्ण संसदीय समिति भएकाले समितिमा उठाइने विषयले संस्था, पदाधिकारी तथा समितिको गरिमामा चुनौती नआउने गरी प्रस्तुत गर्नुपर्ने बताए।
उनले संविधानले विभिन्न संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको उल्लेख गर्दै संविधानमा गरिएको व्यवस्थालाई स्वीकार गर्ने विषयमा सबै प्रतिबद्ध हुनुपर्ने बताए।
संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रियालाई लिएर राजनीतिक आरोप-प्रत्यारोप गर्नु उचित नहुने उनको भनाइ थियो। उनले अदालत वा संवैधानिक निकायलाई कुनै राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखे।
उनले संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएका जिम्मेवार व्यक्तिहरूले संविधानले दिएको दायित्व पूरा गर्ने भएकाले उनीहरूमाथि अत्यधिक आरोप लगाउने शैलीले संस्था र संस्थामा रहेका व्यक्तिहरूको मानमर्यादा घट्न सक्ने बताए।
लामिछानेले संविधान संशोधनको विषयमा समेत प्रतिनिधिसभाको दुई तिहाइ बहुमतमात्र पर्याप्त नहुने भन्दै संविधान संशोधनका लागि संविधानले तोकेको प्रक्रियालाई नै पालना गर्नुपर्ने उनको भनाइ छ।





