काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी भदौ ५ गते शुक्रबार बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा बैठक बस्न लागेको हो ।
महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुनेछ ।
बैठकमा ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।
त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ।
स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयसमेत कार्यसूचीमा राखिएको छ ।
बैठकमा पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।




