जाजरकोट। अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षापछि रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले भेरी नगरपालिका-३ स्याला बस्ने पूर्णबहादुर विकको छ कोठे दुईतले ढुंगा-माटोको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ।
घरमा रहेका पाँच जना भने आफन्तको घरमा बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्।
पहिरोमा परी घाइते भएका १० जनामध्ये भेरी-२ रिसाङका ६० वर्षीय रामबहादुर शाही र भेरी-२ का करिब ५२ वर्षीय केदार कार्कीलाई थप उपचारका लागि नेपालगञ्ज तथा भेरी-२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीलाई सुर्खेत रिफर गरिएको छ।
अन्य घाइतेको जिल्ला अस्पताल जाजरकोट तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
पहिरोपछि भाग्ने क्रममा भेरी-२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी-२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली उद्धार तथा खोजीमा खटिएको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले घटनास्थलमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
प्रहरीले सम्पर्कविहीनको खोजी र क्षतिको थप विवरण संकलन भइरहेको जनाएको छ।



