पोखरा। पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलाङका १६ वर्षीय अनिल विक छन्।
दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धौलागिरि गाउँपालिका वडा नं २ लुलाङकै १८ वर्षीय दिनेश विकको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरीका अनुसार घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग१४प २५१७ नम्बरको मोटरसाइकल हेमजाको म्याग्दीचोकस्थित पोखरा-बागलुङ सडकखण्डमा दुर्घटना भएको हो । मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट हेम्जाको नियन्त्रणमा रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





