काठमाडौँ । देशका विभिन्न स्थानमा भएका पाँच छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। झापाको कन्काई नगरपालिका-७ दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार दिउँसो प्रदेश १-०१-०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी अर्जुनधारा नगरपालिका-९ बस्ने ५० वर्षीया लिला देवी गौतमलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते गौतमलाई उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारका क्रममा सोही दिन साँझ ४ः५० बजे मृत्यु भएको हो।
झापाकै बिर्तामोड नगरपालिका-२ बाह्रकोटीगाउँमा अटो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान मे १ ह ३८४२ नम्बरको अटोले मे १ त ७१५३ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका-४ भामटोली बस्ने ३५ वर्षीया सुखी बिवीसमेत पाँच जना घाइते भएका थिए।
उनीहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा सुखी बिवीको सोही दिन दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।
यता, चितवनको खैरहनी नगरपालिका-१ शाहीचोकमा बसको ठक्करबाट पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको छ।
सोमबार बिहान करिब २ः३० बजे बा प्र ०३-००१ ख २७२८ नम्बरको बसले तत्काल नामथर र वतन नखुलेका करिब ३० वर्षका देखिने पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाइएकोमा चिकित्सकले बिहान ३ः१५ बजे मृत घोषणा गरेका हुन्।
यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका-१२ शीतलपुरमा एम्बुलेन्स दुर्घटनामा ४० दिनकी बालिकाको मृत्यु भएको छ।
आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने अनिल पुनकी ४० दिनकी छोरी सपना पुन स्वास्थ्यमा समस्या भएपछि तुलसी बाल अस्पताल तुलसीपुरमा ल्याइएको थियो।
चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि रा १ झ २११ नम्बरको एम्बुलेन्सबाट नेपालगञ्जतर्फ लैजाने क्रममा उक्त एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका-१२ शीतलपुरमा अनियन्त्रित भई सडकको साइडमा पल्टिएको थियो।
प्रहरीले बालिकासहित सवार तीन जना आफन्तलाई उद्धार गरी अवस्था सामान्य देखिएपछि नेपालगञ्जको कान्ति आरोग्य बाल अस्पताल लगिएको थियो।
उपचार सम्भव नभएको चिकित्सकको सल्लाहअनुसार आफन्तले बालिकालाई घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो।
यसैगरी रूपन्देहीको ओमसतिया गाउँपालिका-१ लखन चोकमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार राति नामथर र वतन नखुलेका व्यक्तिले चलाएको लु५६प ९०९७ नम्बरको मोटरसाइकल बिग्रिएर बनाउनका लागि सडक छेउमा रोकिरहेको लु२ख २८७६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो।
ट्रक जिल्ला गुल्मी दरबार गाउँपालिका-७ बस्ने ३७ वर्षीय दिपक खत्रीले चलाएका थिए। दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारका क्रममा राति चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार विभिन्न सवारी दुर्घटनामा एक सय २७ जना घाइते भएका छन्।




