काठमाडौँ। वर्षौँदेखि बन्द, घाटा र व्यवस्थापकीय समस्याले थलिएका सार्वजनिक उद्योग तथा संस्थानमा सुधारको संकेत देखिन थालेको सरकारले दाबी गरेको छ।
प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन तथा बिक्री बढाउने र आर्थिक रूपमा सबल बनाउने प्रयासबाट केही क्षेत्रमा सकारात्मक परिणाम आउन थालेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री साहले राष्ट्रिय उद्योग तथा संस्थानलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने उद्देश्यसहित सरकारले सहजीकरण, समन्वय र कानून कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताएका छन्।
उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समितिमा भएका प्रगतिलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
नेपाल औषधि लिमिटेडमा नाफाको दाबी
वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको प्रधानमन्त्री साहको दाबी छ।
विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले तीन करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताएका छन्।
चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यसमेत राखिएको प्रधानमन्त्रीको भनाइ छ।
यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादनको तयारी अन्तिम चरणमा पुगेको र हाल लिमिटेडबाट ११ प्रकारका औषधि उत्पादन भइरहेको उनले बताएका छन्।
हेटौँडा कपडा उद्योग ब्युँताउने तयारी
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। सरकारले परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। सेनाले उद्योगमा रहेका मेसिनको मर्मतसम्भार, परीक्षण उत्पादन तथा उद्योगको अवस्थाबारे प्राविधिक अध्ययन गर्ने जिम्मेवारी पाएको छ।
सरकारी कार्यदलले पनि उद्योगलाई तत्काल परीक्षण उत्पादनमा लैजाने र त्यसपछि दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्ययोजना अघि सारेको छ। परीक्षण उत्पादनका लागि प्रारम्भिक रूपमा ३३ लाख रुपैयाँ बजेट निकासा गरिएको सार्वजनिक विवरणमा उल्लेख छ।
प्रधानमन्त्री साहले भने तान अर्थात् कपडा बुन्ने मेसिनको मर्मतपछि परीक्षण उत्पादन शुरू भएको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको दाबी गरेका छन्।
नेपाल वायुसेवा निगमको आम्दानी बढेको दाबी
नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा पनि सुधार आएको प्रधानमन्त्री साहले बताएका छन्। उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले छ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। सो अवधिमा निगमको सिट उपयोगिता ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको तुलनामा छ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्रीको दाबी छ।
जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापत एक अर्ब छ करोड १९ लाख रुपैयाँसमेत सोही अवधिमा भुक्तानी गरिएको उनले बताएका छन्।
डीडीसीमा किसानको बक्यौता घटाउने प्रयास
दुग्ध विकास संस्थानमा लामो समयदेखि समस्याका रूपमा रहेको किसानको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री साहले बताएका छन्।
उनका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको छ। यसअन्तर्गत करिब ७२ करोड रुपैयाँको बक्यौता रहेको अवस्थामा हालको भुक्तानी चक्रलाई करिब ३५ करोड रुपैयाँमा सीमित गरिएको दाबी गरिएको छ।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्। सुधारका प्रयासपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको उनको दाबी छ।
कानुनविपरीत कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब तीन करोड रुपैयाँ बचत गरिएको पनि उनले बताएका छन्।
सरकारले डीडीसीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारीसमेत गरेको छ। घ्यू खाडी मुलुक, बटर र छुर्पी चीनमा निर्यात गर्ने तयारी भइरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः शुरू गर्ने योजना रहेको प्रधानमन्त्रीको भनाइ छ।
सिंहदरबार वैद्यखानामा उत्पादन र कारोबार बढेको दाबी
सिंहदरबार वैद्यखाना विकास समितिमा पनि उत्पादन तथा कारोबार बढेको प्रधानमन्त्री साहले बताएका छन्। सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको उनको दाबी छ।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको प्रधानमन्त्रीले बताएका छन्।
हाल वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित काम गरिरहेको छ। हाल एक सय पाँच प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षमा यो संख्या एक सय ५० पुर्याउने लक्ष्य राखिएको छ।
यसैगरी पाउडर र ट्याब्लेट औषधिको उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत अघि सारिएको प्रधानमन्त्रीले बताएका छन्।
दाबी कार्यान्वयनमै मुख्य चुनौती
प्रधानमन्त्री साहले यी उपलब्धिलाई सार्वजनिक संस्थानमा सुधार सम्भव छ भन्ने उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनका अनुसार इमान्दारिता, जिम्मेवारीबोध र देशप्रतिको समर्पण कायम राख्न सके अन्य रुग्ण उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ।
तर सार्वजनिक उद्योग पुनः सञ्चालनसँगै त्यसलाई दीर्घकालीन रूपमा नाफामुखी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सक्नु सरकारका लागि मुख्य चुनौती हुनेछ। विगतमा पटक-पटक पुनः सञ्चालनको घोषणा भए पनि व्यवहारमा अघि बढ्न नसकेका उद्योगका हकमा प्रारम्भिक उत्पादनभन्दा पनि निरन्तरता, व्यवस्थापन, बजार र वित्तीय दिगोपनलाई महत्वपूर्ण मानिन्छ।
सरकारले भने राष्ट्रिय उत्पादन बढाउने र आयातमा निर्भरता घटाउने लक्ष्यसहित सार्वजनिक उद्योगको पुनरुत्थानलाई अघि बढाइरहेको जनाएको छ।
प्रधानमन्त्रीको दाबी
वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।
१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेसदन गर्ने तयारी अन्तिम चरणमा छ को शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।
२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।
३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।
४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।
५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ।





