Nidan Media

बेवारिसे अवस्थाका ५५ नाल भरुवा बन्दुक बरामद

काठमाडौँ। दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा खोजतलास अभियान सञ्चालन गरेको थियो।

खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका-४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे-भत्कुले, न्यू कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, लमही नगरपालिका-९ तरुलियास्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक बरामद गरिएको छ।

बरामद भएका सबै भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.