काठमाडौँ। दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा खोजतलास अभियान सञ्चालन गरेको थियो।
खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका-४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे-भत्कुले, न्यू कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, लमही नगरपालिका-९ तरुलियास्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक बरामद गरिएको छ।
बरामद भएका सबै भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





