Nidan Media

आज देशभर वर्षाको सम्भावना, गण्डकीसहित तीन प्रदेशमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा सक्रिय रहने भएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनेछ।

भारी वर्षा हुन सक्ने क्षेत्रका नदी, खोलामा बहाव बढ्न सक्ने तथा बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.