काठमाडौँ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाट प्रहरीले करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आठबीसकोट नगरपालिका-३ स्यालाखदी निवासी २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका-२ स्याला निवासी २० वर्षीय गणेश वलीलाई आठबीसकोट-४ छोटेबगर क्षेत्रमा सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकिएको थियो।
चेकजाँचका क्रममा टिकारामले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए।
त्यसपछि प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए।
नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





