काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपील गरेका छन्।
बिहीबार जारी गरेको अपीलमा राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्।
उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुव्यवस्था पूर्ववत् अवस्थामा फर्काउन तथा नागरिकले निर्भय र शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्।
उनले कठिन परिस्थितिमा समुदायबीचको एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबै पक्ष संयमित बन्नुपर्नेमा जोड दिएका छन्। साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सबैलाई सचेत हुन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।




